पछिल्लोक्रममा चलचित्र प्रदर्शनपश्चात हल रिपोर्टिङको नाममा नेपाली चलचित्र पत्रकारितामा नराम्रो अभ्यास बढ्दो छ। चलचित्र सकिएपछि हलभित्रै कलाकार र क्यामेरासहितको हूल छिर्ने, ढोकाबाहिर क्यामेरा लिएर बस्ने र बाहिरिँदै गरेका दर्शकलाई रोक्दै उनीहरूको प्रतिक्रिया लिने।
दर्शकको प्रतिक्रिया लिनु आफैँमा गलत होइन। चलचित्रले दर्शकलाई कस्तो प्रभाव पार्यो भन्ने जान्नु समीक्षाको महत्वपूर्ण हिस्सा हो। तर यहाँ एउटा सामान्य प्रश्न उठ्छ; "दर्शकले आफ्नो प्रतिक्रिया दिन चाहेको छ कि छैन?" के अचानक तेर्स्याइएको क्यामेरामा बोल्न दर्शक सहज छन् त?
दर्शक चलचित्र हेर्न हल गएका हुन्। उनीहरूले टिकट चलचित्र हेर्न किनेका हुन्,क्यामेरामा देखिनका लागि होइन। दर्शकहरू परिवारसँग गएको हुन सक्छन्, साथीभाइसँग गएको हुन सक्छन् अथवा आफ्नो व्यक्तिगत समय बिताउन गएको हुन सक्छन्। त्यसैले पत्रकारले दर्शकलाई पहिले सोध्नुपर्ने हुन्छ; "तपाईंको प्रतिक्रिया लिन मिल्छ?" त्यसपछि दर्शकले सहमति दिए अन्तर्वार्ता लिनु स्वाभाविक हो। तर अस्वीकार गरेपछि उसलाई पछ्याउने,क्यामेरा तेर्स्याइरहने वा उसको अनुमति नलिई भिडियो सार्वजनिक गर्ने अभ्यासमाथि प्रश्न उठ्छ।
यस विषयमा एउटा महत्वपूर्ण भ्रम हटाउन आवश्यक छ। सार्वजनिक ठाउँमा हुनु भनेको व्यक्तिको सबै कुरा सार्वजनिक हुनु होइन। नेपालको वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ ले व्यक्तिको गोपनीयताको अधिकारलाई कानुनी संरक्षण दिएको छ। ऐनको दफा १६ ले व्यक्तिको तस्वीरसँग सम्बन्धित विषयमा व्यवस्था गरेको छ।
सार्वजनिक ठाउँको सामान्य दृश्य खिच्दा संयोगवश कुनै व्यक्ति तस्वीरमा पर्नु र कुनै व्यक्तिलाई नै लक्षित गरेर क्यामेरा चलाउनु एउटै कुरा होइन। सार्वजनिक स्थानमा तस्वीर खिच्दा संयोगवश अन्य व्यक्ति तस्वीरमा पर्न सक्ने अवस्थालाई कानुनले पूर्ण रूपमा निषेध गरेको छैन। तर तस्वीरलाई व्यक्तिको चरित्र वा प्रतिष्ठामा क्षति पुग्ने गरी प्रयोग गर्न, सताउने वा हैरान पार्ने उद्देश्यले प्रयोग गर्न तथा कानुनले निषेध गरेको तरिकाले प्रकाशन वा प्रचार गर्न रोक लगाएको छ।
पत्रकारिताका लागि कानुनले केही छुट पनि नदिएको हैन। सार्वजनिक हित वा अनुसन्धानमूलक पत्रकारिताका क्रममा प्राप्त सूचना तथा सामग्री प्रकाशन गर्न तथा सार्वजनिक कार्यक्रममा व्यक्त गरिएको मन्तव्य वा सार्वजनिक कार्यक्रममा खिचिएको दृश्य प्रयोग गर्न केही अवस्थामा कानुनी आधार हुन्छ। तर यसको अर्थ पत्रकारिताको नाममा हरेक व्यक्तिको तस्वीर वा भिडियो आफूखुसी प्रयोग गर्न पाइन्छ भन्ने होइन।
सामग्री किन खिचियो, सार्वजनिक हित के हो, व्यक्तिको गोपनीयतामा कस्तो असर पर्छ र सामग्री कसरी प्रयोग गरियो भन्ने कुरा महत्वपूर्ण हुन्छ। सामान्य चलचित्रको दर्शक प्रतिक्रिया लिनु र गम्भीर सार्वजनिक हितको विषयमा खोजमूलक पत्रकारिता गर्नु एउटै अवस्था होइन।
अब प्रश्न आउँछ; "यदि कुनै दर्शकलाई आफ्नो तस्वीर वा भिडियो अनुचित रूपमा प्रयोग भयो, आफ्नो गोपनीयता वा प्रतिष्ठामा असर पर्यो वा आफूलाई मर्का परेको महसुस भयो भने के उसले उजुरी गर्न सक्छन् त?"
यसको उत्तर हो, सक्छन्! पक्कै पनि सक्छन्! सञ्चारमाध्यम वा पत्रकारको आचारसंहिता उल्लङ्घन भएको दाबी भए प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिन्छ। पत्रकार आचारसंहिताले सार्वजनिक हितमा प्रतिकूल असर नपर्ने अवस्थामा व्यक्तिको वैयक्तिक तथा व्यावसायिक गोपनीयताको सम्मान गर्नुपर्ने व्यवस्था गरेको छ।
उजुरी परेपछि काउन्सिलले सम्बन्धित सञ्चारमाध्यमसँग जवाफ माग्न तथा आवश्यक सुधार वा कारबाहीका लागि निर्देशन दिन सक्छ। यस्तो उजुरी सामान्यतः सामग्री प्रकाशित वा प्रसारित भएको मितिले ३० दिनभित्र गर्नुपर्ने व्यवस्था छ।
वैयक्तिक गोपनीयता सम्बन्धी ऐनअन्तर्गत कसुरबाट कसैलाई हानि, नोक्सानी वा पीडा पुगेको अवस्था भए सम्बन्धित व्यक्तिले जिल्ला अदालतमा क्षतिपूर्तिका लागि उजुरी गर्न सक्ने व्यवस्था पनि छ। तर क्यामेरामा अनुहार देखिनु मात्रले स्वतः गोपनीयता भङ्ग भएको प्रमाणित हुँदैन। व्यक्ति लक्षित थियो कि थिएन, सहमति थियो कि थिएन, तस्वीर वा भिडियो कसरी प्रयोग गरियो र त्यसबाट वास्तविक क्षति वा अनुचित असर परेको छ कि छैन भन्ने तथ्यका आधारमा कानुनी प्रश्न निर्धारण हुन्छ।
अन्तर्राष्ट्रिय पत्रकारितामा पनि सार्वजनिक ठाउँमा हुनु र अन्तर्वार्ता दिन सहमत हुनु फरक विषयका रूपमा हेरिन्छ। अमेरिकाको पत्रकार समाजले जारी गरेको पत्रकार आचारसंहिताले सूचना सङ्कलन गर्दा सम्भावित हानि कम गर्न, व्यक्तिको मर्यादा र निजी जीवनको सम्मान गर्न तथा सार्वजनिक हित र व्यक्तिमाथि पर्न सक्ने हानिबीच सन्तुलन कायम गर्न पत्रकारलाई आग्रह गर्छ।
कानुनी रूपमा गर्न सकिने कुरा र नैतिक रूपमा गर्न उचित कुरा सधैँ एउटै नहुने कुरामा पनि त्यसले जोड दिन्छ। बेलायतको सूचना आयुक्त कार्यालयले पनि सार्वजनिक ठाउँमा खिचिएको तस्वीर वा भिडियो स्वतः उचित हुन्छ भन्ने मान्यता राख्दैन। कुनै व्यक्ति सार्वजनिक ठाउँमा भए पनि उसको तस्वीर वा भिडियो प्रयोग गर्दा त्यसले अनावश्यक हस्तक्षेप गरेको छ कि छैन र प्रयोग उचित तथा आवश्यक छ कि छैन भन्ने विषय विचार गर्नुपर्ने बताइएको छ।
यहीँबाट चलचित्र पत्रकार र चलचित्र हलको जिम्मेवारी स्पष्ट हुनुपर्छ। पत्रकारले दर्शकलाई अन्तर्वार्ताका लागि स्वेच्छाले सहभागी हुने अवसर दिनुपर्छ। क्यामेरा सुरु गर्नुअघि आफू कुन सञ्चारमाध्यमबाट आएको हो र सामग्री कहाँ प्रयोग हुने हो भन्ने कुरा स्पष्ट गर्नुपर्छ। दर्शकले अस्वीकार गरेमा उसको पछि लाग्ने, पटकपटक आग्रह गर्ने, बाटो छेक्ने वा लुकाएर उसको प्रतिक्रिया रेकर्ड गर्ने काम गर्नु हुँदैन। कसैको अनुहार मात्र होइन, उसको आवाज, नाम वा अन्य पहिचान खुल्ने विवरण प्रयोग गर्दा पनि सामग्रीको उद्देश्य र त्यसले पार्न सक्ने असर विचार गर्नुपर्छ।
विशेषगरी नाबालक, परिवारसँग रहेका व्यक्ति वा आफ्नो निजी विषयमा कुराकानी गरिरहेका मानिसलाई अनावश्यक रूपमा सामग्रीमा समेट्नु हुँदैन। यदि कुनै व्यक्ति सुरुमा अन्तर्वार्ताका लागि तयार भए पनि पछि आफ्नो प्रतिक्रिया सार्वजनिक नगर्न अनुरोध गर्छ भने त्यस्तो अनुरोधलाई गम्भीर रूपमा विचार गर्नु पत्रकारको व्यावसायिक जिम्मेवारी हो।
चलचित्र हलको जिम्मेवारी पनि उत्तिकै स्पष्ट हुनुपर्छ। हलले आफ्नो परिसरमा दर्शकको प्रतिक्रिया लिन अनुमति दिन्छ भने पत्रकारका लागि निश्चित स्थान तोक्न सक्छ र त्यहाँ मात्र व्यवस्थित रूपमा अन्तर्वार्ता लिन दिने व्यवस्था गर्न सक्छ। हलको प्रवेशद्वार वा निस्कने बाटोमा क्यामेरा राखेर दर्शकलाई असहज बनाउने अवस्था आउन दिनु हुँदैन। हलले मिडियालाई प्रवेश अनुमति दिँदा दर्शकको गोपनीयता र मर्यादा सम्मान गर्नुपर्ने स्पष्ट नियम बनाउन सक्छ।
त्यस्तै नचाहने दर्शकलाई जबर्जस्ती रोक्न नपाइने, बाटो अवरुद्ध गर्न नपाइने, बालबालिकाको तस्वीर खिच्दा अभिभावकको सहमति आवश्यक हुने र हलभित्र दर्शकको निजी क्षणलाई मनोरञ्जन सामग्रीका रूपमा प्रयोग गर्न नपाइनेजस्ता आधारभूत नियम लागू गर्न सकिन्छ। नियम उल्लङ्घन गर्ने सञ्चारकर्मीलाई हलले अनुमति फिर्ता लिन वा भविष्यमा प्रवेशमा प्रतिबन्ध लगाउने व्यवस्था पनि गर्न सक्छ।
हलभित्रको चलचित्र प्रदर्शन भइरहेको समयमा दर्शकको प्रतिक्रिया, हाँसो, रोएको दृश्य वा व्यक्तिगत कुराकानीलाई अनुमतिविना खिचेर सार्वजनिक गर्नु त झन् संवेदनशील विषय हो। टिकट काटेर चलचित्र हेर्न बसेको दर्शकले आफूलाई पत्रकारको सामग्री बनाउने अनुमति दिएको हुँदैन। हलको सुरक्षा प्रयोजनका लागि राखिएको निगरानी क्यामेरा र पत्रकारले समाचार वा मनोरञ्जन सामग्री बनाउन लक्षित रूपमा खिचेको भिडियो पनि एउटै उद्देश्यका कुरा होइनन्। त्यसैले हलले आफ्नो सुरक्षा निगरानी र पत्रकारिताका लागि गरिने छायाङ्कनबीच स्पष्ट सीमा कायम गर्नुपर्छ।
अन्तर्राष्ट्रिय अभ्यासको मूल भावना पनि यही हो। सार्वजनिक ठाउँमा हुनु भनेको अन्तर्वार्ता दिन सहमत हुनु होइन। सार्वजनिक ठाउँमा सामान्य दृश्य खिच्दा कोही संयोगवश दृश्यमा पर्न सक्छ, तर कुनै व्यक्तिलाई नै लक्षित गरेर सामग्री बनाउँदा उसको अधिकार र व्यक्तिगत मर्यादालाई पनि विचार गर्नुपर्छ। पत्रकारिताको स्वतन्त्रता महत्वपूर्ण छ, तर त्यो स्वतन्त्रता व्यक्तिको अनावश्यक हस्तक्षेपको अधिकार होइन।
त्यसैले समस्या दर्शकको प्रतिक्रिया लिनुमा होइन, प्रतिक्रिया लिने तरिकामा हो। चलचित्र पत्रकारले आफ्नो काम गर्न पाउनुपर्छ, तर दर्शकलाई आफ्नो इच्छाअनुसार सहभागी हुने वा नहुने अधिकार पनि हुनुपर्छ। चलचित्र हलले पनि पत्रकारलाई काम गर्न दिने नाममा आफ्ना दर्शकको व्यक्तिगत मर्यादा र गोपनीयतालाई बेवास्ता गर्नु हुँदैन।
क्यामेरा खोल्नुअघि एउटा सामान्य प्रश्न सोधे पुग्छ; "तपाईंको प्रतिक्रिया लिन मिल्छ?" दर्शकले "हुन्छ" भने खुलेर कुरा गरौँ। "हुँदैन" भने धन्यवाद दिएर अगाडि बढौँ। यो पत्रकारिताको स्वतन्त्रता रोक्नु होइन, पत्रकारिताको मर्यादा कायम गर्नु हो।
चलचित्र हेर्न हल पुगेका दर्शकहरू पत्रकारको सामग्री बन्न गएका होइनन्। उनीहरू चलचित्र हेर्न गएका हुन्। त्यसैले चलचित्रको समीक्षा गरौँ, दर्शकको आवाज पनि सुनौँ, तर दर्शकको सहमति, गोपनीयता र मर्यादालाई मूल्य चुकाएर होइन।
उल्लेख गर्नैपर्ने अर्को महत्वपूर्ण कुरा सञ्चारकर्मीहरूलाई 'रिपोर्टिङ'को नाममा हलमा निमन्त्रणा दिने सम्बन्धित चलचित्रको पनि छ । सञ्चारकर्मीहरू कसैको आधिकारिक निमन्त्रणा विना एक्लै हलमा पुगेर उल्लेखित रिपोर्टिङलाई क्यामेरा र बुम तेर्साएको हुँदैनन् । त्यसको माहोल सम्बन्धित चलचित्रको निर्माण टिमले मिलाएको हुन्छ । दर्शकको 'भावभङ्गी' कैद गरेर सार्वजनिक गर्दा आकर्षण बढ्ने र त्यसको प्रभाव 'टिकट सेल'मा देखिने बुझाई फिल्मकर्मीको छ ।
फिल्मकर्मीहरू आफ्नो चलचित्र हेर्न टिकट काट्ने दर्शकहरूमाथि सम्पूर्ण अधिकार आफ्नो रहने भ्रममा देखिन्छन्, अनि अफ्ठ्यारो मानिरहेका कलाकारहरूलाई समेत चलचित्र नसकिँदै मिडियासहित हल छिराएर 'हल्ला र हुटिङ' गराउने फिल्मी शैलीमै कन्टेन्ट निर्माण गर्न सकृय देखिन्छन् । दर्शकको गोपनीयतामा मिडियासँगै चलचित्र निर्माता पनि उत्तिकै सचेत रहनुपर्छ। आफ्नो विजनेस बढावा हुने लोभमा सर्वसाधारणको संविधानप्रदत्त अधिकार नै हनन गर्ने छुट उनिहरूलाई छैन ।
नभुलौँ, दर्शकले चलचित्र हेर्न टिकट काटेको हो, आफ्नो व्यक्तिगत समय क्यामेरामा कैद गर्न अनुमति दिएको होइन।
(लेखकसँग काठमाडौंका विभिन्न चलचित्र हलको व्यवस्थापकीय जिम्मेवारीमा लामो समय काम गरेको अनुभव छ।)